शनिबार, वैशाख १५, २०८१

जीवन विज्ञानले लुम्बिनीमा सात दिने चक्रविज्ञान शिविर आयोजना गर्दै

नेपालखोज २०८० फागुन २९ गते ११:५५

काठमाडौं । योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानले बृहत् ध्यान शिविर आयोजना गर्न लागेको छ । ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ भन्ने मूल नारासहित आयोजना गर्न लगिएको ध्यान शिविरमा झन्डै ५ हजार साधकहरुलाई एकै ठाउँमा सात दिनसम्म चक्रविज्ञान ध्यान गराइने आयोजकले जनाएका छन् ।

एकैपटक ५ हजार जनालाई यसरी ध्यान सिकाउन लगिएको यो सम्भवतः पहिलो पटक हो । आगामी ३० मार्च देखि ५ अप्रिल (चैत १७ देखि २३ गते) सम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्षमा चक्रविज्ञान शिविर सञ्चालन गरिने आयोजकले जनाएका छन् । मानव विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालको समग्र विकासका लागि प्रत्येक नेपाली शारीरिक र मानसिक रूपमा तत्पर हुनुपर्ने बेला भइसकेको बताए ।

उनले भने, ‘त्यसका लागि हरेक मानिसले चक्रविज्ञानको कोर्ष लिएर योग र ध्यानमार्फत आफूलाई पूर्ण र असल नागरिक बनाउन सक्नेछन् ।’ चक्रविज्ञान साधनामा भाग लिने कर्मचारी वा नेता नेतृत्वमा पुगे भने देशले सही गन्तव्य समात्ने उनको बताए । उनले भने, ‘देशमा त संविधान कार्यान्वयनमै समस्या छ, जबसम्म हरेक नागरिक आध्यात्मिक चेतना युक्त बन्दैन तबसम्म संविधानले कसरी सही कार्य गर्छ ?’

मानव विकास विशेषज्ञ रमेश नेपालले भगवान गौतम बुद्धले देखाएको बाटोमै लुम्बिनीमै ५ हजारलाई ध्यान गराउनु गजबको संयोग हुने बताए । जीवन विज्ञान युकेकी संयोजक सरिता शर्माले बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत संसारभरिबाट साधकहरु उक्त बृहत शिविरमा भाग लिन नेपाल जान लागेको जानकारी दिइन् । उनले पवित्र भूमि लुम्बिनीमा आयोजना गर्न लगिएको उक्त शिविरमा भाग लिन सबै साधक मित्रहरुलाई आग्रह पनि गरिन् । शिविरमा सहभागी बन्नका लागि यो लिंकमा गएर दर्ता गर्न सकिन्छ ।

प्रतिक्रिया