आइतबार, जेठ ५, २०८२

जग्गाको मुआब्जा एवं फुकुवा गर्न माग

नेपालखोज २०८० चैत १ गते ७:२९

गण्डकी । कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा र परियोजनालाई आवश्यक नपर्ने जग्गा फिर्ता पाउनुपर्ने माग आफूहरुको रहेकोे बाँध क्षेत्र समस्या समाधान समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए । विसं २०६६ देखि स्थानीयवासीको १४ सय ७२ रोपनी जग्गा रोक्का रहेको उनको भनाइ छ । ‘अधिग्रहणमा परेका केहीले मुआब्जा पाए पनि अझै झण्डै तीन सय परिवार मुआब्जा पाउनबाट वञ्चित छौँ’, उनले भने, ‘पटकपटक आवाज उठाउँदा पनि परियोजना कार्यालय र स्थानीय प्रशासनबाट कुनै सुनुवाइ हुन सकेको छैन ।’

रोक्का रहेको सबै जग्गा परियोजनाले लिने भएमा चलनचल्तीको मूल्यअनुसार मुआब्जा दिनुपर्ने स्थानीयवासीको माग छ । वर्षौंसम्म जग्गा रोक्का रहँदा अंशबण्डा, बेचबिखनसमेत गर्न नपाएको रुपाकोट गाउँपालिका–६ का सीता अधिकारीले बताए । जग्गाको उचित मुआब्जा निर्धारण र जग्गा फुकुवा नगरेसम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।

प्रतिक्रिया