आइतबार, असार २२, २०८२

शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

नेपालखोज २०८० चैत २ गते १५:१३

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सहकारीपीडितका समस्यादेखि विकास निर्माणका काममा ढिलाइ भइरहेकोलगायत विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अजयकुमार चौरसियाले सहकारीबाट ठगिएका पीडितहरु आन्दोलनमा रहेको विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अञ्जनी श्रेष्ठले चाँडो चाँडो सरकार परिवर्तन हुँदा नागरिक तहबाट सरकार र राजनीतिक दलमाथि विश्वास घट्दै गएको धारणा राखिन् । सांसद अनिशा नेपालीले बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा महँगो ब्याज र चर्को सेवा शुल्क लिएको विषयमा नियामक निकायको ध्यानाकर्षण गराइन् ।

सांसद अब्दुल खानले सरकारी स्वास्थ्य सेवा प्रवाह कमजोर रहेको विषय उठाए । बाँके जिल्लाको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु निजी क्लिनिकमा काम गर्ने गरेको आरोप पनि उनले लगाए । सेवाग्राहीले सहज रुपमा उपचार सेवा नपाएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमनलाल मोदीले बजेट अभावका कारण हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भइरहेको विषय उठाए । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्ने नभई त्यसलाई खुला राखिनुपर्ने धारणा उनले राखे ।

सांसद अम्बिका बस्नेतले इपिएस कोरियाका परीक्षार्थीले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग राखिन्।

सांसद अम्मरबहादुर थापाले वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमअन्तर्गतका ठेक्का समयमा लाग्न नसक्दा विकासका काममा अवरोध भइरहेको बताए । काम गरेका निर्माण व्यवसायीले भुक्तानी नपाएको विषयमा उहाँले सरकारको ध्यानाकर्षण गराए ।

पछिल्लो समय लागुऔषध ओसारपसार र त्यसको कारोबार बढेको विषय सांसद अमरेशकुमार सिंहले संसद्मा उठाए । विदेशी नागरिक पनि लागुऔषध कारोबारमा लागिरहेको उनको भनाइ छ ।

सांसद अमृतलाल राजवंशीले झापा, मोरङ, सुनसरीलगायत जिल्लामा हात्तीको आक्रमणमा परी पछिल्लो छ महिनामा छ जनाको ज्यान गएको विषय उठाउदै यो समस्या समाधानका लागि सरकारसँग माग गरे ।

कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताको क्षेत्रमा राख्नुपर्ने माग सांसद अमृतादेवी अग्रहरिले संसद्मा उठाए । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रलाई सरकारले पर्याप्त बजेट नछुट्याएको उनको भनाइ छ ।

प्रतिक्रिया