सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याज पीडितको न्यायका नाममा बिचौलीको संलग्नता हुने गरेको भन्दै गृह प्रशासनको ध्यानार्कषण गराए । कांग्रेसका सांसद दिक्पालकुमार शाहीले सहकारी पीडितको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानार्कषण गराए । उनले सुन तस्करीको विषयमा प्रधानमन्त्रीको जवाफसमेत माग गरे ।
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले जलवायु परिवर्तनका कारण देश प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाआर्कषण गराए । उनले मुलुकमा आगलागीका घटना बढेकोप्रति चिन्ता प्रकट गरे । ‘नेपालका सम्पूर्ण वन आगजनीको अत्यन्त खतरामा छन् । सिङ्गो सरकार देशका सम्पूर्ण जनप्रतिनिधिमूलक संस्था र नागरिक समाजलगायत सुरक्षाकर्मी सबैले वन तथा गाउँघरमा लाग्ने आगलागी नियन्त्रणका लागि लाग्नुपर्दछ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले ललितपुरको सातदोबाटो–धापाखेल पाँच किलोमिटर सडक विस्तारको काम यथाशीघ्र सम्पन्न गर्न माग गरे । उनले पोखरा परिसरका प्राकृतिक एवं ऐतिहासिक महत्वका स्थानलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गरे ।
कांग्रेसका सांसद दीपक खड्काले सङ्खुवासभालगायत जिल्लामा बाढीबाट विस्थापितप्रति सरकारको ध्यान पुग्न नसकेको बताए । सङ्खुवासभाको किमाङथाङ नाकामा जाने बाटो तत्काल खुलाउन उनले माग गरे ।
कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्धारीका किसान ३९ दिनदेखि आन्दोलनरत रहेका भन्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले निर्माण व्यवसायीको भुक्तानी तत्काल गर्न माग गरे ।
एमालेका सांसद दिपा शर्माले हुलाकी राजमार्गअन्तर्गत बाँके जिल्लामा पर्ने सडकखण्डको खुल्न बाँकी ट्र्याकका लागि बजेटको व्यवस्थापन गर्न माग गरे । उनले भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालमा प्रयाप्त जनशक्ति व्यवस्थापनको माग गरे ।

प्रतिक्रिया