शनिबार, वैशाख १५, २०८१

‘क्यूआर कोड’मार्फत पर्यटकीय गन्तव्यको जानकारी

नेपालखोज २०८० चैत ५ गते १५:०५

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ (विस्तृत रूपमा प्रतिक्रिया दिने) मार्फत दिन थालेको छ ।

नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह तालसहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको हो ।

नगरपालिकाको नक्सामा ती गन्तव्यको पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । उनका ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ गर्ने व्यवस्था मिलाइएको छ । उक्त क्युआर कोड पर्यटकीय स्थलमा टाँस गर्ने र उक्त स्थानको विषयमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने उनको भनाइ छ ।

‘थुप्रै पर्यटकीयस्थल बागलुङ नगरपालिका भित्र छन् । जसमध्ये नगरपालिकाले पहिलो चरणमा ११ गन्तव्यको विषयमा जानकारी दिन डिजिटल माध्यमबाट व्यवस्था मिलाएका छौँ’ ,उपप्रमुख खड्काले भने, ‘घुम्न आएका पर्यटकहरु उक्त गन्तव्यको विषयमा अनविज्ञ भइरहेको सन्र्दभमा तत्कालीन पर्यटकीयस्थलमा टाँसिएको क्यूआर कोड स्क्यान गरी जानकारी लिन सक्नेछन् ।’

यस कार्यले धार्मिक तथा पर्यटकीय गन्तव्यको महिमा थप उजागर हुने उनको भनाइ छ । ती धार्मिक स्थलमा पुग्नुभन्दा पहिला ती स्थानको नक्सा र अन्य विवरण घरबाटै जानकारी लिन सक्ने खड्काले बताए ।

नगरपालिकाले पर्यटन शीर्षकमा विनियोजन गरेको रू तीन लाख बजेटमध्ये सारङ्ग डट कमको सहकार्यमा पर्यटकीय स्थलको जानकारी डिजिटल माध्यमबाट दिन थालिएको हो । नगरपालिकाले आगामी वर्ष थप प्राथमिकताका आधारमा पर्यटकीय गन्तव्यको क्यूआर कोड बनाउँदै लैजाने जनाएको छ ।

उक्त कार्यले धार्मिक तथा ऐतिहासिक महत्वको उजागरमा थप सहयोग पुग्ने बताइएको छ । अङ्ग्रेजीमासमेत अनुवाद गरिएकाले पर्यटकीय स्थानको विषयमा विदेशी पर्यटकलाई समेत सहज हुने नगरप्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगरपालिकाले कालिका मन्दिरमा क्यूआर कोड टाँसेर पर्यटकीयस्थलको आधुनिक जानकारी दिने तयारी थालेको छ ।

प्रतिक्रिया