२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

नेपालखोज २०८० चैत ६ गते ८:३६

बैङ्कक (थाइल्याण्ड) । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ ।

विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

अधिकारी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष हुन् । सो फाउण्डेसनको सहयोग र समन्वयमा बैङ्ककमा नेपालीभाषीहरूको यो पहिलो महाधिवेशनको आयोजना गरिएको हो ।

विश्वका २७ देशमा रहेका एक सय जनाभन्दा बढी नेपालीभाषीको सहभागिता रहेको सो भेलाले उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराई, सचिव चिरनजङ्ग थापा, सहसचिव अर्जुनकुमार पौडेल, कोषाध्यक्ष उदयनारायण मिश्र र सहकोषाध्यक्षमा गोपी कार्की तथा सदस्यहरू चयन गरेको छ ।

यसैगरी संस्थाको बोर्ड अफ ट्रष्टीमा अध्यक्ष डिल्ली अधिकारीसहित सदस्यहरूमा सुशीलकुमार पन्त, चुडामणि भट्टराई, साधना घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ, ओमराज गुरुङ, वात्सना राई, टिबी गुरुङ, बिरास अधिकारी र करिष्मा सुब्बालाई चयन गरेको छ ।

विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्दै आएका सम्पूर्ण नेपाली जातिको चाहना भावनात्मकरूपमा आफ्नो मातृ तथा पितृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान गर्न आपसी भाइचारा, सद्भाव एवं सहयोग कायम गर्न तथा नेपाली जातीय, सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न एएनओको गठन गरिएको सो महाधिवेशनको उद्घाटनका क्रममा जानकारी दिइयो ।

महाधिवेशनको उद्घाटन गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले एएनओ विश्वमा रहेका नेपालीभाषीहरूलाई एकताको सूत्रमा बाँध्न र एकापसमा सहयोग र सद्भाव कायम राख्नसक्ने संस्थाका रूपमा विकास होस् भनी कामना गरे ।

नेपाल र नेपालीका नाममा जेजस्ता संस्था स्थापना भए पनि तथा नेपालीहरू सङ्गठित भए पनि नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन एवं नेपालीबीचको सहयोग र समन्वयमा लाग्न उहाँले सुझाव दिए । उनले नेपालीमूलका र नेपालीभाषी नागरिकहरू जो जुन देशमा छन् त्यहाँ उनीहरू इज्जतसाथ बस्न पाउनुपर्ने धारणा पनि राखे ।

प्रतिक्रिया