शनिबार, वैशाख १५, २०८१

आन्तरिक पर्यटन पवर्द्धन गर्न बागलुङ र लुम्बिनी सांस्कृतिक नगरबीच भगिनी सम्बन्ध

नेपालखोज २०८० चैत ८ गते ९:३३

गलकोट (बागलुङ) । आन्त्रिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

विश्व सम्पदामा सूचीकृत विश्व शान्तिक्षेत्र, धार्मिक एवं पर्यटकीय नगरी लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी प्रदेश र धार्मिक एवं पर्यटकीय नगर बागलुङ नगरपालिकाबीच पर्यटन प्रवद्र्धन, असल अभ्यास र अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध कायम गरिएको समझदारीपत्रमा उल्लेख छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । भगिनी सम्बन्ध स्थापना गर्न नगरप्रमुख मुसलमान, उपप्रमुख कल्पना हरिजनसहितका जनप्रतिनिधि र कर्मचारी बागलुङ नगरपालिका आएका थिए ।

भगिनी सम्बन्ध स्थापनाबाट दुई नगरपालिकाबीच कला तथा संस्कृतिको आदानप्रदान गर्न सहयोग पुग्ने बताउँदै बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले असल अभ्यासको आदान प्रदान र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुने उल्लेख गरे ।

नगरप्रमुख मुसलमानले भगवान् गौतमबुद्धको जन्मभूमि नगरपालिका र धार्मिक हिसाबले पवित्र तपोभूमिका रुपमा रहेको बागलुङ नगरपालिकाको कलासंस्कृति, भाषा, वेशभूषासँगै अनुभव आदानप्रदान गर्न समझदारीबाट योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया