मंगलबार, जेठ १, २०८१

नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली : राष्ट्रपति मुर्मू

नेपालखोज २०८० चैत १२ गते १५:२६

नयाँदिल्ली । होली पर्वले मानिसमा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिने भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले बताएकी छिन् ।

हर्षोल्लासका साथ रङ खेलेर मनाइने होली पर्व भारतमा यो पर्ष मार्च २५ (सोमबार) परेको छ । पर्वको सुरूवात ‘होलिका दहन’ भनिने आगो जलाउने अनुष्ठानसहित गरिन्छ जसले राक्षस होलिकालाई जलाएको सन्दर्भलाई सङ्केत गर्दछ ।

यो पर्व भगवान कृष्ण प्रति समर्पित छ जसले उत्तर प्रदेशको ब्रज नामक क्षेत्रमा धेरै समय बिताएको विश्वास गरिन्छ । यसले होलीको भावनालाई मात्र नक्कल नगरि राधा – कृष्णको कालातीत प्रेमको प्रतिरूप पनि झल्काउछ ।

राष्ट्रपति मुर्मूले होली पर्वको पूर्वसन्ध्यामा आइतबार एक सन्देश जारी गरी देश विदेशमा रहेका सम्पूर्ण भारतीय नागरिकलाई शुभकामना दिएकी छिन् । सन्देशमा उनले रङहरू खेलेर मनाइने यो पर्वले आपसी एकता र भाइचाराको भावनालाई जागृत गर्ने बताएकी छिन् ।

राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा होली पर्व एउटा जीवन्त र उल्लासपूर्ण पर्व भएकाले यसले मानव जीवनमा आशा र उत्साह जगाउने बताइन् । होलीका विभिन्न रङहरू देशको विविधताको प्रतीक भएको बताउदै होली पर्वले जनतामा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिई सांस्कृतिक मूल्य मान्यतालाई सुदृढ बनाउन नागरिकलाई प्रेरणा दिने उल्लेख गरिन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आइतबार होलीको अवसरमा एक सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण नागरिकहरूलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले देशका सबै नागरिकहरूलाई होलीको शुभकामना दिएका हुन् । उनले भने, ‘स्नेह र सद्भावका रङहरूले सजाइएको परम्परागत पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह ल्याओस् ।’ रङको यो पर्वले सबैको जीवनमा खुशी ल्याउने र सबैलाई नयाँ जोशका साथ राष्ट्र निर्माणका लागि प्रेरित गर्ने उनले बताए ।

त्यसैगरी, भारतका संघीय गृहमन्त्री अमित शाहले जनताको जीवनमा सुख, समृद्धि, सद्भाव र नयाँ ऊर्जाको कामना गर्दै रङको पर्व होलीको शुभकामना दिएका छन् ।

प्रतिक्रिया