शनिबार, वैशाख १५, २०८१

नेपाल लगानीको प्राथमिकतामा छः एआइआइबी

नेपालखोज २०८० चैत १३ गते १३:२५

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका एआइआइबी निर्देशक आरएमपी रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गदै आगामी दिनमा स्रोतको उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइने बताए ।

पचास प्रतिशत पूँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआइआइबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न अर्थमन्त्री पुनले आग्रह गरेका थिए । जवाफमा रथनायेकेले बहुवर्षीय आयोजनाको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औँल्याए ।

अर्थमन्त्री पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि एआइआइबीलाई निम्ता गरे । निर्देशक रथनायेकेले लगानी सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न पनि एआइआइबीसँग आग्रह गरे । एआइआइबीको ब्याजदर तुलनात्मक रुपमा महङ्गो भएकाले नेपालले अपेक्षित रुपमा ऋण लिन नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया