शनिबार, वैशाख १५, २०८१

साहित्यका पारखी बालकृष्ण

नेपालखोज २०८० चैत १५ गते १२:१३

काठमाडौं । ‘तिम्रो नाममा पहिलोपल्ट पत्र कोर्दै र्छु, पत्रको उत्तर नआए काँचुली फेर्दैछु’, सहित्यकार वालकृष्ण थपलिया (प्रयत्न) को ‘हृदयका पानाहरु’ नामक गजल सङ्ग्रहबाट लिइएका यी हरफहरुले सूचना प्रविधिको अत्याधुनिक विकास हुनुअघि पत्र लेख्ने समयको स्मरण गराउँछन् ।

शिक्षण पेसामा सक्रिय रहेका साहित्यकार थपलियाका उक्त गजल सङ्ग्रहमा समाजका विविध पाटोलाई समेटेर लेखिएका ९० वटा गजल समेटिएका छन् । गजलमा माया, प्रेम, भ्रष्टाचाररहित समाज, शिक्षाको महत्व, समाजको विकास, विकृति-विसङ्क्तिमुक्त समाजको निर्माणको कल्पना गरिएको छ ।

‘हृदयका पाना गजल सङ्ग्रहमा मानिसका मनमा उब्जिएको संयोगान्त र वियोगगान्तका विविध भावहरुलाई गजलका रुपमा पस्किन ओजिएको छ’, साहित्यकार थपलियाले भने, ‘मानिसका जीवनमा आइपर्ने र भइरहेको घटनालाई शृङ्गारिक बनाइएको छ, जसले समाजको वास्तविकता चित्रण गरेको छ ।’

साहित्यकार थपलियाका पाँच कृति प्रकाशन भइसकेका छन् । त्यसमध्ये ‘हृदयका पानाहरु’ गजल सङ्ग्रह २०६९, ‘बस्तीका स्वरहरू’ गजल सङ्ग्रह २०७१, ‘फेसबुक’, लोकगीत सङ्ग्रह २०७१, ‘स्वै त बालअधिकार बालगीति कविता सङ्ग्रह २०७२, विभिन्न पत्रपत्रिका र पुस्तकहरूमा फुटकर रचना प्रकाशित भएका छन् भने आमा (उपन्यास) प्रकाशोन्मुख छ ।

साहित्यकार थपलियाको अर्को गजल सङ्ग्रह बस्तीका स्वरहरुमा हरेक बस्तीमा आफ्नै संस्कार र संस्कृति तथा भावना जोडिएको विषयलाई प्रस्तुत गर्न खोजिएको छ । ‘मानिस सामाजिक प्राणी हो, उसलाई समाज चाहिन्छ, समाजमा आफ्नै चालचलन, भावना संवेदना, संस्कार संस्कृति हुन्छ’, उनले थपे, हरेक बस्तीमा मानिसका भावना जोडिएको हुन्छ, त्यसले मानिसलाई एकापसमा जोड्ने काम गरेको हुन्छ, समाजका त्यही विषयमा गजलमार्फत प्रस्तुत गरिएको छ ।

साहित्यकार थपलिया २०४१ वैशाख १४ गते भीमेश्वर नगरपालिका वडा नं १ सुस्पा क्षमावती दोलखामा बाबु कृष्णप्रसाद थपलिया र आमा सीतादेवी थपलियाका सन्तानका रुपमा जन्मिएका हुन् । नेपालीमा स्नातकोत्तर गरेका उनी असल दर्शनको खोजी र साहित्य सिर्जनामा रुची राख्छन् । उनलाई शिक्षण, पत्रकारिता, गायन र समाजसेवामा पनि उत्तिकै रुचि छ ।

‘फेसबुक’, लोकगीत सङ्ग्रहमध्येमा उनको अर्को लोकगीत सङ्ग्रह हो । ‘गाउँमा फेसबुक भर्खरै चलाउन सुरु भएको थियो’, साहित्यकार थपलियाले उक्त सङ्ग्रहको एक टुक्रा सुनाउँदै भने, ‘सँगै जिउने सँगसँगै मर्ने हो, दुई वर्ष भो फेसबुकमा च्याट भाको अब बिहे गर्ने हो ।’ उनले लोकगीतको आफैले शब्द सिर्जना गरेर आफैँले गाएका छन् । आफ्नो शिक्षकको जिम्मेवारी पूरा गरिसकेपछि बाँकी भएको समयमा उनी साहित्य सिर्जनामा लागे । साहित्यकार थपलियाको प्रकाशोन्मुख कृति आमा (उपन्यास) रहको छ ।

प्रतिक्रिया