शनिबार, वैशाख १५, २०८१

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

नेपालखोज २०८० चैत १६ गते १३:१३

केप टाउन(राससर एएनआई) । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ ।

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) परित्याग गर्नु भएका पूर्व राष्ट्रपति जुमाले हालैमात्र नयाँ दल एमखोन्टो विसिज्वे (एमके) पार्टी खोल्नु भएको छ । सन् २०२१ मा अदालतको अवहेलनाको आरोपमा केही समय जेलसजाय भोगेका जुमाले नयाँ दल खोलेर आफ्नो राजनीतिक यात्रा पुनः प्रारम्भ गर्न चाहेका छन् ।

दक्षिण अफ्रिकी निर्वाचन आयोगका अध्यक्ष मोसोथो मोप्याले पूर्व राष्ट्रपति जुमालाई निर्वाचनमा भाग लिन नपाउने गरी निर्णय भएको पुष्टि गरे । उनी विरुद्ध एक उजूरी परेको थियो, जसलाई आयोगले स्वीकार गरेको छ, अध्यक्ष मोप्याले भने ।

सन् १९९४ मा सत्तामा आएयता एएनसीले पहिलो पटक ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने अनुमान गरिएको छ । अफ्रिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा ५० प्रतिशत मत ल्याउनु पर्दछ । मुलुकको कमजोर आर्थिक अवस्था तथा अत्यधिक भ्रष्टाचारको आरोप खेपिरहेको एएनसीलाई जनमत हासिल गर्न निकै धौधौ परेको बताइन्छ ।

कुनै समय नेल्सन मण्डेलाले नेतृत्व गरेको एएनसीले यदि ५० प्रतिशतभन्दा कम मत प्राप्त गरेको अवस्थामा पार्टीले अन्य दलसँग गठबन्धन गर्नुपर्ने हुन्छ ।

भ्रष्टाचारको आरोप लागेपछि जुमाको राष्ट्रपतीय कार्यकाल सन् २०१८ मा समाप्त भएको थियो । त्यसबखत जुमालाई हटाएर सिरिल रामाफोसा राष्ट्रपति बनेका थिए ।

जुमालाई सन् २०२१ मा एक भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुन भनिए पनि उनी अनुपस्थित भएपछि १५ महिनाको जेल सजाय सुनाइएको थियो । उनलाई जेल सजाय भएपछि उनका समर्थकले देशव्यापी प्रदर्शन, हिंसा र लुटपाट मच्चाएका थिए । उक्त हिंसात्मक घटनामा ३५० जनभन्दा बढीको मृत्यु भएको थियो ।

जुमालाई दुई महिनापछि औषधि उपचारका लागि भन्दै जेलमुक्त गरिएको थियो । तर माथिल्लो अदालतले जुमालाई जेलमुक्त गर्ने निर्णय सही नभएको भन्दै पुनः जेलमै राख्नुपर्ने सजाय सुनाएको थियो ।

अहिले भने निर्वाचन आयोगले संविधानमा भएको एक प्रावधानका आधारमा जुमालाई राष्ट्रपतिमा उम्मेदवार हुनबाट रोकेको छ । आयोगका अनुसार, दक्षिण अफ्रिकाको संविधानमा कुनै पनि व्यक्तिलाई १२ महिनाभन्दा बढी समय जेलमा रहेको भए त्यस्तो व्यक्तिलाई राष्ट्रपति उठ्न नपाउने संवैधानिक व्यवस्था छ ।

पूर्व राष्ट्रपति जुमामाथि उनी सन् १९९० को दशकमा उपराष्ट्रपति हुँदा भएको एक हतियार खरिद सम्झौतामा भ्रष्टाचार गरेको आरोप समेत अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया