शनिबार, वैशाख १५, २०८१

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

नेपालखोज २०८० चैत १६ गते १३:२५

गलकोट (बागलुङ) । बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ ।

नेपालको कला–संस्कृति, मौलिक परम्परा, अर्गानिक खानाका परिकारले चर्चा पाएसँगै विदेशी पर्यटक चार वर्षदेखि निरन्तर भित्रिँदै आएका समितिका अध्यक्ष मुना थापामगरले बताए । उनका अनुसार घरबासमा आउने अधिकांश विदेशी पर्यटक विश्व अर्गनाइजेसनमा आबद्ध भएका आउने गरेका छन् ।

‘अहिले घरबासमा अमेरिकाबाट आएका सात जना पर्यटक छन्, उनीहरु दुई दिन बसेपछि फर्कन्छन्, हामीले विदेशी पर्यटक बढ्न थालेपछि स्वगतका लागि नौमती बजा बजाउने गरेका छौँ’, अध्यक्ष थापाले भने, ‘अहिले जङ्गलमा गुराँस फुलेकाले गुराँसको फूलको मालाले पाहुनालाई स्वागत गर्दा पाहुना खुसी भएको पाएका छौँ ।’ बागलुङका पर्यटन व्यवसायी महादेव शर्माले चार वर्षयता विदेशी पर्यटक ल्याउँदै आएको उनले बताए ।

अहिलेसम्म विश्व भेगन अर्गनाइजेसनमा आबद्ध विभिन्न देशका पर्यटक आठाैँ समूह आइसकेको भन्दै थापाले अधिकांश विदेशी दातृ निकाय तथा गैरसरकारी संस्थामा आबद्ध विदेशी यहाँ बास बस्न आउने गरेका उनले जानकारी दिए ।

घरबास सञ्चालनमा ल्याएको एक दशक भए पनि आधिकारिकता भने सात वर्षअघि मात्रै पाइएको समितिका अध्यक्ष थापाले बताए । आन्तरिक पर्यटकले प्रायः घरबास खाली नहुने भएकाले पछिल्लो समय विदेशी पर्यटक बढ्न थालेपछि गुणस्तरलाई वृद्धि गरिँदै लगिएको उनको भनाइ छ ।

घरबास सञ्चालिका इन्द्रा थापाले भकुण्डे प्राकृतिकरुपमा सुन्दर हुनुका साथै यहाँ सञ्चालित घरबास मापदण्ड पूरा गरी निर्माण गरिएकाले विदेशी पर्यटक लालयीत हुन थालेका बताए । विदेशी पर्यटक सिधैँ यहाँ आउने अवस्था नरहने भन्दै पहिलोपटक चार वर्षअघि आएका पर्यटकले यहाँको वातावरण, दृश्य, खानपान र आतिथ्यताबाट प्रभावित बनेपछि यसले निरन्तरता पाएको उनको भनाइ छ ।

घरबासमा स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार चाख्न सकिन्छ । पन्ध्र घर रहेको अतिथि सत्कार घरबासमा एक रातमा एक सय पर्यटक बस्नसक्ने क्षमता छ ।

यहाँको मगर संस्कृति, अर्गानिक खानाका परिकार, आतिथ्यता, आरामदायी बस्ने व्यवस्था, पर्यटकीय उद्यान, भ्यूटावर, बराह ताल, प्राकृतिक सुन्दरतालगायत कारण विदेशी पर्यटक आकर्षित हुने गरेका पर्यटन व्यवसायी शर्माले बताए । आफ्नै सक्रियतामा विदेशी पर्यटकको आठौ समूह यहाँ आएको उनको भनाइ छ ।

प्रतिक्रिया