भित्र्याउने बेलाको गहुँ र जौमा असिनापानी

गोरखा । बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले किसानले भित्र्याउने बेला भएको गहुँ र जौ खेतमै नष्ट भएको छ ।
शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले बारपाक क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको जौ, गहुँलगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिए ।
बारपाकका करिब एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जाँ असिनापानीले नष्ट गरेको उनले बताए । ‘शनिबार ४ बजेदेखि लगातार तीन घण्टाभन्दा बढी बारपाक क्षेत्रमा भीषण वर्षासँगै असिना परेको थियो’, वडाध्यक्ष घलेले भने, ‘ठूलो पानी र ठूलाठूला असिनाले घरमा भित्र्याउने बेला भएको अन्नबाली नष्ट भएपछि अहिले बारपाकका किसान चिन्तामा परेका छन् ।’
असिनापानीले बारपाक क्षेत्रमा किसानले लगाएको हिउँदे तरकारी बालीसमेत पूर्णरुपमा नष्ट भएको छ । बारपाकको सोर्पा, र्खोका, च्वेजङ्ग, तसीरङ्ग, र्मोकङ्ग लगायतका क्षेत्रमा किसानले अत्याधिक मात्रामा जौँ र गहुँको खेती गर्ने गर्दछन् । ‘धेरैजसोको त जौ, गहुँ, आलुको बीउसमेत आउने अवस्था छैन’, वडाध्यक्ष घलेले भने, ‘अव के गर्ने भन्ने चिन्तामा परेका छौँ ।’
‘यहाँ धेरैले आफैँ खानका लागिमात्र भए पनि र कतिपयले बिक्री गर्ने गरी हिँउदे तरकारी बाली आलु, प्याज, लसुनलगायतका खेती गरेका थिए’, उनले भने, ‘ठूलो असिनापानीले सबै क्षति गरेको छ ।’ एउटै घरको न्यूनतम दुईदेखि तीनमुरीसम्म आलु क्षति भएको उनको भनाइ छ ।
‘बारीमा गएर हेर्दा रुन मन लाग्छ’, स्थानीय किसान मनबहादुर घलेले भने, ‘जौ र गहुँ त पूरै असिनाले छोपेर सेतै पो भएछ अब के खाने हो ?’ उनले असिनापानीले बालीनाली ढलेर सोत्तर भएको बताए । ‘अलिअलि भएको पनि बटुल्नसक्ने अवस्था छैन’, घलेले भने, ‘खानका लागि त छोड्दिनुस् अर्को वर्ष बीउ लगाउनका लागि अब कहाँ खोज्ने हो भन्ने अवस्था बारपाकका किसानहरुको भएको छ ।’
भौतिक संरचनामा क्षति
भीषण वर्षापछि आएको बाढीले बारपाकमा थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ । ‘बारपाक स्वास्थ्यचौकीमा डाँडाबाट आएको भलसँगै आएको पहिरो छिरेर स्वास्थ्यचौकीको तारबारसहित पर्खाल बगाएको छ’, वडाध्यक्ष घलेले भने, ‘स्वास्थ्यचौकीमा मात्र रु तीन लाखभन्दा बढीको क्षति भएको अनुमान छ ।’
त्यस्तै वडा नं १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालयमा भलसँगै आएको बाढीले क्षति पुर्याएको छ । ‘बाढीले विद्यालयको तारबार, स्कुलको जग खोतलेर लगेको छ’, उनले भने, ‘ऐरेलपाखा खानेपानी आयोजनामा पानी र बाढीले क्षति पुर्याएको छ ।”
प्रतिक्रिया