बिहीबार, वैशाख २०, २०८१

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

नेपालखोज २०८० चैत १९ गते १२:५२

गाजापट्टी । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ ।

इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौं व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ । यद्यपी इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन ।

प्रत्यक्षदर्शीको भनाईमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौं हवाई हमला गरेको थियो । हमास सरकारद्वारा संचालित संचार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ ।

हमासको मुख्य अखडा रहेको विश्वासमा अल–शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकू मारिएको दाबी गरेको थियो ।

इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकूका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो । हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरुमा आफ्ना लडाकू नरहेको बताउँदै आएको थियो ।

हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अल–शिफा अस्पताल परिसरबाट दर्जनौं व्यक्तिका सडेका शवहरु बरामद गरिएको जनाएको छ । मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको र ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको छ ।

एक जना चिकित्सकले २० जनाभन्दा बढी व्यक्तिका शव भेटिएको तर तिनीहरुलाई इजरायली ट्याङ्कले कुल्चेका कारण चिन्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

इजरायली सेनाले अल–शिफा अस्पताल कब्जामा लिनुअघि हजारौं सर्वसाधारणले त्यहाँ आश्रय लिएका थिए । इजरायली सेनाले सुरुमा गत नोभेम्बर महिनामा अस्पतालमा छापा मारेको थियो ।

यसैबीच, इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरुमा पनि घातक हवाई हमला गरेको छ । गाजाका कैयौं स्थानमा हमास र इजरायली सैनिकबीच भिडन्तहरु भइरहेका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हवाई हमलामा परेर कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया