म्याग्दीका बनपाखामा लालीगुराँस हेर्नेको भीड

गलेश्वर (म्याग्दी) । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् ।
विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जङ्गलमा उक्लिएका हुन् । राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिएको घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ । यस याममा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ ।
अहिले यहाँको जङ्गलमा लालीगुराँस फुलेर ढकमक्क भएकाले अझ बढी आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको स्थानीयवासीले बताएका छन् । आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यवसायी खुसी भएका छन् । घोडेपानीका होटल व्यवसायी मीना गुरुङले पर्यटकले गर्दा प्रायः सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको बताए ।
वसन्त ऋतुको आगमनसँगै प्रकृतिले पनि नयाँस्वरुप धारण गरेको छ । राताम्यै फुलेका लालीगुराँस र वन जङ्गलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । उत्तरपट्टी चाँदी जस्तै सेता हिमाल हेर्दै गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक म्याग्दीका पर्यटकीयस्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिकाको सोले, बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गाको रुइसेमा पुग्न थालेका छन् । यी ठाउँहरुमा गुराँसको ठूला जङ्गल छन् ।
नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जङ्गलमा रातो, सेतो, गुलावी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । पृष्ठभूमिका हिमाल र लालीगुराँसको जङ्गलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै आन्तरिक तथा बाह्य पर्यटक मख्ख परेको स्थानीय युवा सञ्चारकर्मी सुरेन गुरुङले जानकारी दिए ।
प्रतिक्रिया