डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन् ।
विसं २०६१ देखि कृषिकर्म गरिरहनुभएका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए । कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उनले बताए ।
बीस रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताए । ‘बीउ फरक–फरक समयमा राखेको थिएँ, त्यसरी नै फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम लगाएको छु, महराले भने ।’ एक दिन काम गरेबापत एक जनालाई आठ केजी प्याज दिने सहमति भएको उनले बताए । उनले सिजनमा २५ देखि ३५ प्रतिकिलो र बेसिजनमा ४५ देखि ८० प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आएका छन् ।
प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महरा बताए । उनले भने, ‘सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ ।’
महराले यस वर्षदेखि प्याजको बीउ पनि उत्पादन गर्न सुरु गर्नुभएको छ । पहिलोपटक एक सय ५० गाना प्याज बीउँका लागि रोपिएका छन् । महराले गरेको प्याजखेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमूना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए ।
महराले गरेको प्याजखेतीबाट आफू प्रभावित भएपछि उनलाई प्रोत्साहनस्वरूप ज्ञान केन्द्रबाट बीउ र सात सय मिटर ३२ एमएमको सिँचाइ पाइप सहयोग गरिएको अवस्थीले बताए । महराले प्याज रोपेको जमिनबाट करिब दुई क्विन्टल प्याज उत्पादन हुने अनुमान गरिएको उनले बताएका छन् । किसानले फलाएका प्याजको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिरहेको पनि अवस्थीले जानकारी दिए ।
प्रतिक्रिया