शुक्रबार, वैशाख २१, २०८१

निर्वाचनको पहिलो दिन हिंसा भएपछि उत्तरपूर्वी भारतका केही मतदाता मतदानमा फर्किए

नेपालखोज २०८१ वैशाख १० गते १३:२६

गुवाहाटी (भारत) । गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मतदाताहरू सोमबार कडा सुरक्षाका बीच मतदानमा फर्केका छन् ।

शुक्रबार राष्ट्रिय निर्वाचनमा मतदानको पहिलो दिन हतियारधारीहरूले मणिपुर राज्यका करिब तीन हजार मतदान केन्द्रमध्ये ११ को चुनावी मेसिनमा क्षति पुर्याएपछि भारतीय निर्वाचन अधिकारीहरूले ती मतदान केन्द्रको परिणामलाई रद्द गरेका थिए ।

राज्य अधिकारीहरूका अनुसार कम्तीमा छ वटा मतदान केन्द्रमा सशस्त्र व्यक्तिहरूले मत हाल्न प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ मेसिन तोडेका थिए । सन् २०२३ देखि मणिपुर राज्य दुई प्रमुख जातीय समूहबीचको जातीय हिंसाले आक्रान्त छ । भीडले गाउँहरूमा तोडफोड गर्दै आगो लगाएपछि करिब दुई सय मानिस मारिएका छन् भने ६० हजारभन्दा धेरै विस्थापित भएका छन् ।

क्रिस्चियन कुकीहरूले कुकी तथा अन्य जनजाति समूह बसोबास गर्ने पहाडहरूमा जग्गा किन्न दिने विशेष दर्जाका लागि अधिकांश हिन्दू मेइटीहरूको मागको विरोध गरेपछि अशान्ति भड्किएको थियो । म्यान्मासँगको भारतको सीमामा रहेका पहाडहरूमा ३७ लाख मानिस बसेको राज्य मणिपुरमा सेनाको उपस्थिति भए पनि झडपहरू भइरहेका छन् ।

भारतमा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक निर्वाचन शुक्रबारदेखि सुरु भएको छ । निर्वाचनमा २१ राज्यका लाखौँ मतदाताले मत खसालेका छन् । छ सातासम्म चल्ने बहुचरणको निर्वाचनमा लोकप्रिय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो सिधा कार्यकालको खोजीमा हिन्दू राष्ट्रवादलाई मूलधार बनाएका छन् । मतगणना जुन ४ मा हुनेछ ।

मुख्य विपक्षी कांग्रसे पार्टीले शुक्रबार मणिपुरमा मतदानमा धाँधली भएको भन्दै ४७ मतदान केन्द्रमा पुनः मतदानको माग गरेको थियो । यसअघि सोही दिन मणिपुरमा सशस्त्र समूहरूबीच झडप भएको थियो । हिंसा भए पनि उक्त राज्यमा ६६ दशमलव पाँच प्रतिशत मतदान भएको छ । मणिपुरका अन्य भागमा अप्रिल २६ मा दोस्रो चरणको मतदान हुनेछ ।

प्रतिक्रिया