शनिबार, वैशाख २२, २०८१

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

नेपालखोज २०८१ वैशाख १३ गते ९:१५

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आएकी छिन् ।

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहन्छिन् । चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा छिन् । ‘चित्र कोर्ने सानैदेखिको सोख हो । तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु । अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ’, उनले भने, ‘पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ । कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु ।’

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट रु दुई सयदेखि दुई सय ५० सम्म पाइने गरेको छ । पढाइसँगै फुर्सदको समयमा चित्र कोरेर हुने आम्दानीले अध्ययनका साथै घरखर्च जोहो गर्न सहजता भएको निर्मलाको भनाइ छ । निर्मलाका आमाबुबासहित छ सदस्यीय परिवार छ । उनी जेठी छोरी हुन् । आमाबुबा सुन्दरीफाँटामै खेती गरिन । यहाँ निर्मलाको १५ कट्ठा जमिन पनि छ ।

‘परिवारको आर्थिक अवस्थाले नधानेर माइली बहिनीले पढाइ छोडिन् । अहिले पसलमा काम गर्छिन् । अरु हामीहरु जेनतेन अध्ययन गरिरहेका छौँ’, निर्मलाले तीन बहिनीका समस्या सुनाउँदै भनिन, ‘चित्रबाट प्राप्त हुने सीमित रकमले जेनतेन अध्ययन खर्च चलेको छ ।’ पछिल्लो समय अत्याधुनिक प्रविधिको प्रयोग हुँदा चित्रकारले काम पाउन कठिन भएको उनको गुनासो छ । ‘काम पाइएको बेला राम्रै आम्दानी हुन्छ । प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ’, उनले भनिन ।

प्रतिक्रिया