सोमबार, वैशाख २४, २०८१

उत्तर कोरियाली नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

नेपालखोज २०८१ वैशाख १४ गते ११:२४

सोल । उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गर्नुभएको सरकारी सञ्चारमाध्यमले शुक्रबार बताएको छ । प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण हो ।

धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घले त्यस्तो कुनै पनि कदमलाई प्रतिबन्ध लगाएको छ । आणविक हतियारसम्पन्न उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण र उत्पादन बढाउन सक्ने विश्लेषकहरूले बताएका छन् ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसएनए) का अनुसार प्योङयाङको नयाँ रक्षा उद्योग एकाइमा बनाइएका ‘मल्टिपल रकेट लन्चरको २४० एमएम शेल’ को ‘उडान सुविधिाहरू र हिट तथा एकाग्रता सूचकहरू’ परीक्षणका क्रममा ‘अत्यन्त सन्तोषजक ढङ्गले मूल्याङ्कन’ गरिएको थियो ।

नेता किमले यस वर्षका लागि युद्ध सामग्री उत्पादन योजनालाई निश्चितरूपमा गुणात्मक ढङ्गले पूरा गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको केसिएनएले बताएको छ । ‘नयाँ प्रविधिसहितको रकेट लन्चरले उत्तर कोरियाको सेनाको आर्टरी बललाई बलियो बनाउन रणनीतिक परिवर्तन ल्याउने छ’, किमको भनाइ उद्धृत गर्दै केसिएनले भनेको छ ।

गत वर्ष उत्तर कोरियाले सन् २००६ देखि लागु राष्ट्रसङ्घीय प्रतिबन्धलाई बेवास्ता गर्दै तथा वासिङ्टन र सोलले चेतावनी दिए पनि रेकर्ड सङख्यामा मिसाइल परीक्षण गरेको थियो । प्योङयाङले सन् २०२२ मा आफैँलाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न मुलुक घोषणा गरेको छ ।

यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । पुनरमिलन र पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिमी’ क्षेत्रीय उल्लङ्घनमा समेत युद्धको धम्की दिएको छ ।

प्रतिक्रिया