बिहीबार, जेठ ३, २०८१

पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

नेपालखोज २०८१ वैशाख १७ गते ९:१०

सिरहा । सिरहाको लहानमा आयोजित सामुदायिक तथा सार्वजनिक पुस्तकालयको मधेस प्रदेशस्तरीय सम्मेलनमा सरोकारवालाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले सतही अध्ययनका आधारमा धारणा बनाउनेको जमात बलियो बनेको भन्दै किताव पढ्ने बानी र गहिरो अध्ययन गर्ने बानी हराउँदै गएकामा सम्मेलनका वक्ताले चिन्तासमेत व्यक्त गरेका छन् । कार्यक्रममा सङ्घीय सांसद गङ्गाप्रसाद यादवले पुस्तकालयमा पठनपाठन गर्न जाने पठन संस्कृति हराउँदै गएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘पुस्ताकलयमा गएर पढ्ने संस्कृति हराउँदै गएको छ । युवापुस्ता विभिन्न प्रकारका कुलत र दुव्र्यसनमा आकर्षित भएका छन्’, सांसद यादवले भने, ‘युवालाई चेतना अभिवृद्धि गरी पठन संस्कृतिको विकास नगर्दासम्म सामाजिक विकास गर्न असम्भव छ ।’ सांसद यादवले मधेस प्रदेशमा साक्षरता दर कम हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै तीनै तहका सरकारले शिक्षामा प्रसस्त लगानी र उचित वातावरण तयार गर्न जरुरी भएको बताए ।

मधेस प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले मधेसमा पुस्तकालय निर्माणको आवश्यकता भएको जिकिर गर्दै त्यसका लागि आफू लागिपरेको बताए । उनले पठन संस्कृतिको विकास गरेर मात्रै सामाजिक विकास गरी समृद्धिको दिशा देखाउन सकिने बताए ।

प्रतिक्रिया