बुधबार, जेठ ९, २०८१

अभिनेताप्रधान भाष्य तोड्दै नेपाली चलचित्र

नेपालखोज २०८१ वैशाख १९ गते १३:३६

काठमाडौं । नेपाली चलचित्रमा अभिनेत्रीको भूमिका प्रायः अभिनेता केन्द्रीत हुनेगर्छ । अर्थात् उनीहरू अभिनेताको जोडी बनेर मात्र पर्दामा देखिने गरेका छन् । केही चलचित्रमा मात्र कथालाई लिडु गर्ने कार्यभार अभिनेत्रीले पाएका छन् । किनकी धेरै निर्देशक आफ्नो कथाको मुख्यपात्र हिरो अभिनेतालाई नै बनाउने गर्छन् । तर, यसलाई तोड्ने पछिल्लो एक चलचित्र हो, ‘बोक्सीको घर’ । यसमा प्रायः कलाकार महिला छन् ।

केकी अधिकारीले निर्माण गरेको चलचित्रमा चिनिने अनुहार उनी मात्र हुनुहुन्छ । यद्यपि चलचित्रले व्यावसायिक रुपमा सफलता प्राप्त गरिरहेको छ । निर्माण पक्षले उपलब्ध गराएको तथ्याङ्कअनुसार शुक्रबारदेखि सोमबारसम्म चलचित्रको व्यापार रु तीन करोड २४ लाख भइसकेको छ । चलचित्रले चार दिनमै लगानी सुरक्षित गरेर घरेलु बजारमै मुनाफा प्राप्त गरिसकेको छ ।

यो सफलताले केन्द्रीय भूमिकामा महिला कलाकारलाई राखेर चलचित्र निर्माण गर्न अन्य निर्मातालाई हौसला मिलेको छ । अभिनेत्री अधिकारीले कथा मन परेकै कारण यो चलचित्र निर्माण गरेका थिए ।

‘सोही शीर्षकको नाटक हेरेपछि मैले चलचित्र बनाएर धेरै दर्शकलाई देखाउने निर्णय लिएर आँट गरेकी हुँ । सुरुआती समयमा हिरो (अभिनेता) को हो भनेर नसोधिएको होइन, तर अहिले भइरहेको व्यापारले यसपछिका चलचित्रमा अभिनेत्रीलाई मुख्य भूमिका दिन प्रेरणा मिल्ने छ’, अधिकारीले भने ।

उनले आफूलाई प्राप्त हुने अधिकांस भूमिका अभिनेताकै वरपर रहने किसिमको भएकाले ‘बोक्सीको घर’ जस्ता चलचित्रमा लगानी गरेको बताए । अभिनेत्री अधिकारी झैँ चलचित्र ‘मनसरा’ मा शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर हुनुहुन्छ । स(साना भूमिकामार्फत चलचित्रमा अभिनयको सुरुआत गरेकी अभिनेत्री मगर अब अभिनेताको वरिपरी घुम्ने पात्रमा आफूलाई प्रस्तुत नगर्ने सोचाइमा हुन् ।

प्रतिक्रिया