आइतबार, जेठ ६, २०८१

हमासले गर्याे बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

नेपालखोज २०८१ वैशाख २५ गते १५:३०

गाजा (इजराइल) । हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको सिएनएनले जनाएको छ ।

भरपर्दो स्रोतबाट सिएनएनले प्राप्त गरेको दस्तावेजमा उल्लिखित प्रस्तावले तनाव कम गर्न र दिगो शान्तिका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले विस्तृत योजना प्रस्तुत गरेको छ ।

दस्तावेजअनुसार सम्झौता तीन चरणमा लागु हुनेछ र प्रत्येक चरण ४२ दिनसम्म चल्नेछ । पहिलो चरणको छ हप्ताको अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकहरूको रिहाइ समावेश छ ।

बदलामा इजराइली सेना बिस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुनेछन् । जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिनेछ भने निरस्त्र प्यालेस्टिनीहरूलाई गाजा पट्टीभर स्वतन्त्र आवागमनको अनुमति दिइनेछ । यसका अतिरिक्त विनिमय प्रक्रियाका लागि निर्दिष्ट मापदण्डसहित,सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी गरिएको सिएनएनले उल्लेख गरेको छ ।

सम्झौतामा हमासले रिहा गरेको प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गरिने उल्लेख छ । साथै समान उमेर समूहका प्रत्येक इजरायली बन्धकका लागि ५० वर्षमाथिका ३० जना प्यालेस्टिनी कैदीहरू पनि रिहा गरिने छ ।

यसबाहेक ३३ जना बन्धकहरूमा महिला आइडिएफ सैनिकहरू समावेश छन् । रिहा गरिने प्रत्येक आइडिएफ महिला सैनिकका लागि ५० जना प्यालेस्टिनी कैदीलाई रिहा गर्न इजराइल सहमत भएको छ । यीमध्ये ३० जना आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

सम्झौताको मानवीय पक्षलाई गाजामा अस्थायी आश्रय र घरहरूका साथै अस्पताल र बिजुली संयन्त्र जस्ता प्रमुख पूर्वाधारको पुनःस्थापनासहित सहायताको प्रवेशलाई सहज बनाउन व्यापक जोड दिइएको छ ।

प्रतिक्रिया