शुक्रबार, असार २०, २०८२

विपद् व्यवस्थापनका लागि स्रोत साधनको अभाव

नेपालखोज २०८१ जेठ १ गते १३:३०

चितवन । जिल्लाका स्थानीय तहहरु विपद् व्यवस्थापनका लागि सक्षम भए पनि स्रोत साधनको कमी भएको पालिका प्रमुखहरुले बताएका छन् ।

जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी अन्तरक्रियामा पालिका प्रमुखहरुले स्थानीय स्रोत साधनको भरपुर प्रयोग गर्न नपाउँदा विपद् व्यवस्थापनमा समस्या हुने गरेको धारणा राखे ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले विपद व्यवस्थापनका लागि स्थानीय तहले काम गर्न खोज्दा विभिन्न निकायहरुबाट रोक्ने गरिएको बताए । निकुञ्ज र वनले आ–आफ्नो कानुन देखाउँदै बाढी पहिरो रोकथामका काम गर्न नदिएको उनले बताए ।

रत्ननगरमा बाढीको जोखिम बढी हुने गरेको बताउँदै उनले खोलामा तटवन्ध गर्न समेत बिभिन्न निकायबाट अनुमति लिनुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘स्थानीय निकायले स्रोत साधनको भरपुर प्रयोग गर्न पाए बिपदको क्षती न्यूनिकरण गर्न सकिने छ ।’

खैरहनी नगरपालिकाका प्रमुख शशी खनियाँले आफ्नो पालिकामा आगलागी बाढी, हावाहुरीको समस्या बढी हुने गरेको बताउँदै यसलाई रोक्नका लागि कस्को क्षेत्राधिकार कति भन्ने विषयमा ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

स्थानीय तहलाई अधिकार दिइएको भए पनि कार्यान्वयनका क्रममा अन्य निकायबाट यसलाई रोक्ने काम हुने गरेको उहाँको गुनासो थियो । ठाउँ हेरेर काम गर्न सके मात्रै विपद् व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो ।

कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मीले स्रोत साधनको अभावका कारण सोचे अनुसारको विपद्का क्षेत्रमा काम गर्न नसकिएको बताए । पालिकाहरुले आफ्नो क्षमताअनुसार काम गरिरहेको भए पनि दक्ष जनशक्ति र स्रोतको अभावका कारण जनअपेक्षाअनुसार काम गर्न कठिन हुने गरेको उनको भनाइ थियो ।

माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतोले स्थानीय सरकारहरु विपद् व्यवस्थापनमा सक्षम भए पनि स्थानीय स्रोत साधनको परिचालन गर्न नपाउनुले काम गर्न कठिन हुने गरेको बताए ।

प्रतिक्रिया