कांग्रेससँग झोक्किए प्रचण्ड, भने– इतिहासमै ठूलो गल्ती गर्यो, यसको मूल्य चर्को पर्नेछ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन् ।
सोमबार कांग्रेसको अवरोधकै बीचमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको बताएका हुन् । यसले आफूलाई दुःखी तुल्याएको पनि उनले बताए ।
विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । नाराबाजीकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोले । त्यसपछि जवाफ दिन रोष्ट्रममा उपस्थित भएका प्रधानमन्त्रीले वेल घेराउ गरिहेका कांग्रेस सांसदहरुप्रति आक्रोश पोखेका हुन् ।
उनले सम्बोधनको सुरुमै भने, ‘म अवरोधमा रहेका माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरूले आज बहुत गलत गर्नुभयो। जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ। त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गरे ।’
विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको र यो पटक पनि सम्वादमा सहमतिमा ल्याउन पहल गरेको आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै उनले भने, तपाईंहरुले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गरे । म गहिरो दुःख व्यक्त गर्न चाहन्छु ।’
यो गतिविधि कांग्रेसका लागि चर्को मूल्य पर्ने भन्दै उनले अगाडि भने, ‘आजको तपाईहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ कलंकका रुपमा ।’
प्रतिक्रिया