शनिबार, असार २१, २०८२

अष्ट्रेलियामा बेरोजगारी बढ्यो

नेपालखोज २०८१ साउन ३१ गते १४:०५

अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो ।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ ।

एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियालीहरूको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ । सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो ।

सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ ।

प्रतिक्रिया