शनिबार, असार २१, २०८२

ओडिशामा महिनावारी बिदाको व्यवस्था

नेपालखोज २०८१ साउन ३२ गते १३:५८

भारतीय राज्य ओडिशाको सरकारले सरकारी तथा निजी क्षेत्रमा काम गर्ने महिला कर्मचारीहरूका लागि एक दिनको महिनावारी बिदाको घोषणा गरेको छ ।

कटकमा आयोजित एक समारोहमा ओडिशाका उपमुख्यमन्त्री प्रभाती परीदाले महिलाहरूका लागि महिनावारी बिदाको यो घोषणा गरेकी हुन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार महिनावारी बिदाको यो नीति तत्काल लागू हुनेछ । यो नीति अन्तर्गत महिला कर्मचारीले महिनावारीको पहिलो वा दोस्रो दिन बिदा लिन सक्नेछन् ।

महिलाहरूको स्वास्थ्य र कल्याणमा अझ राम्रो अनि बढी सहयोग पुर्‍याउने उद्देश्यले यो निर्णय लिइएको उपमुख्यमन्त्री परीडाले बत्ताएकी छिन् । यद्यपि, उनका अनुसार यो बिदा ऐच्छिक हुनेछ।

भारतका कतिपय राज्य सरकारले महिनावारी बिदाको नीति लागू गरिसकेका छन् । सन् १९९२ मा बिहार सरकारले आफ्ना महिला कर्मचारीहरूलाई महिनामा दुई दिन बिदा दिने व्यवस्था गरेको थियो । महिनावारी बिदा योजना केरलामा पनि लागू छ।

फेब्रुअरी २०२४ मा सर्वोच्च अदालतमा एक याचिका दायर गरिएको थियो जसमा देशका छात्रा तथा कामदार महिलाहरूका लागि महिनावारी बिदाको माग गरिएको थियो। सर्वोच्च अदालतले यो याचिका खारेज गर्दै यो नीतिगत मामिला भएको र यश विषयमा केन्द्र सरकारले नै निर्णय गर्नु राम्रो हुने बताएको थियो ।

प्रतिक्रिया