भारतका प्रधानमन्त्री मोदी र उनका मलेसियाली समकक्षी इब्राहिमबीच भेटवार्ता

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका मलेसियाली समकक्षी अनवर इब्राहिमबीच मङ्गलबार भेटवार्ता भएको छ ।
हैदरावाद हाउसमा भएको भेटका क्रममा भारत र मलेसियाबीच साझेदारीका विभिन्न क्षेत्रमा संलग्नतालाई अझ प्रगाढ बनाउन दुई नेताबीच छलफल भएको बताइएको छ ।
‘साझेदारी रूपान्तरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले उनका मलेसियाली समकक्षी अनवर इब्राहिमलाई हैदरावाद हाउसमा न्यानो स्वागत गरे,’ विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘विभिन्न क्षेत्रमा साझेदारीका संलग्नतालाई अझ प्रगाढ बनाउन र सहकार्यका नयाँ क्षेत्रहरूको खोजी गर्न छलफल अगाडि बढेको छ ।’
यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले अनवर इब्राहिमलाई औपचारिकरूपमा स्वागत गरेका थिए । मलेसियाली प्रधानमन्त्रीका रूपमा पहिलो पटक भारत भ्रमणमा आएका इब्राहिम आजै राजधानी नयाँदिल्ली आइपुगेका हुन् ।
इब्राहिमले राजघाटमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेपछि पत्रकारसँग बोल्दै भने, ‘मलेसिया र भारतबीचको सम्बन्ध लामो समयदेखि दुवै मित्र राष्ट्र र त्यहाँका जनताका लागि लाभदायक रहँदै आएको छ ।’
उनले भने, ‘निश्चित रूपमा, हाम्रो छलफलले दुई देशहरूबीचको घनिष्ठ सहयोगको पक्षलाई जोड दिनेछ साथै यस मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन सक्ने अन्य क्षेत्रहरूको खोजी गर्नेछ ।’
मलेसियाका प्रधानमन्त्री इब्राहिमले थपे, ‘भारत र मलेसियाबीच ऐतिहासिक र सामाजिक–सांस्कृतिक सम्बन्ध प्रगाढ छ । भारतको नयाँदिल्लीस्थित राष्ट्रपति भवन, त्यहाँ आयोजित औपचारिक स्वागत समारोहबाट मलाई सम्मानित गरिएको छ ।’
प्रतिक्रिया