जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न खानेपानी मन्त्री यादवको निर्देशन

नेपालखोज २०८१ भदौ ६ गते ५:५१

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जनताका कामलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिएका छन् ।

बालाजु पानीपोखरी, बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माणाधीन ट्याङ्कीको निरीक्षण एवं अवलोकन भ्रमणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

अवलोकन भ्रमणका क्रममा मन्त्री यादवले बालाजु पानी पोखरी बालाजु पार्कमा निर्माण भइरहेका १० लाख र पाँच लाख लिटर क्षमताका खानेपानी ट्याङ्कीका काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

उनले सुन्दरीजलबाट काठमाडौं जोड्ने ‘कनेक्टिङ पाइप’ माछापोखरीमा फुस्किएर पानी वितरणमा बन्द भएको खबर आएपछि आज उक्त क्षेत्रको निरीक्षण गरी यथाशीघ्र काम गरी पानी वितरण गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री यादवले आजै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा निर्माण भइरहेको खानेपानीको नवनिर्मित ट्याङ्कीको निरीक्षण तथा अवलोकन गरे ।

त्यसक्रममा उनले टियु खेल मैदानमा खेल हेर्न तथा अन्य कामका लागि आउने दर्शकका लागि पानीको उचित व्यवस्थापन गर्न निर्देशन दिए ।

मन्त्री यादवले काठमाडौंका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गरी जनताका घरमा शुद्ध र सफा पानी वितरण गर्नसमेत निर्देशन दिए । रासस

प्रतिक्रिया