दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची

नेपालखोज २०८१ भदौ ६ गते ७:४६

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने छ । प्रतिनिधिसभाको आजकाे बैठकमा विषयगत समितिमा हेरफेर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् । 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

संसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने छिन् ।

यसैबीच, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ । 

मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । 

प्रतिक्रिया