शुक्रबार, असार २०, २०८२

युरोपमा बढिरहेको छ ब्लुटङ्ग भाइरस

नेपालखोज २०८१ भदौ ७ गते १६:२१

काठमाडाैं । जर्मनी लगायत युरोपका धेरै देशमा ब्लुटङ्ग नामक भाइरसको नयाँ स्ट्रेन तीव्र गतिमा बढिरहेको छ । यो एक भाइरल रोग हो जसले भेडा र गाई जस्ता जनावरहरूलाई असर गर्छ। कुनै क्षेत्रमा एकपटक प्रवेश गरेपछि यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । प्रभावित देशहरूका किसान तथा गाईवस्तु गोठालाहरू यसका बारेमा अहिले निकै चिन्तित छन् ।

के हो ब्लूटंग रोग ?
यो रोग ब्लूटंग नामक भाइरसका कारणले हुन्छ। मिड्ज नामक सानो कीरा यो भाइरसको वाहक बन्छ । सामान्यतया यो कीरा पानी वा दलदले क्षेत्र नजिकै पाईन्छ। ब्लूटंग भाइरसले भेडा, बाख्रा, मृग तथा गाईवस्तु जस्ता जनावरहरूलाई असर गर्छ। केही दुर्लभ अवस्थामा अर्थात यदि संक्रमित वस्तुहरू खाएमा यसले कुकुर र अन्य मांसाहारीहरूलाई पनि असर गर्न सक्छ । यद्यपि, यसले मानिसलाई असर गर्दैन न त यसले खाद्य सुरक्षामै प्रभाव पार्छ । यो भाईरसबाट प्रभावित जीवहरूको मुख वा नाकमा अल्सर देखा पर्न सक्छ । आँखा, नाक वा मुखबाट स्राव हुनु वा र्याल आउनु पनि यसक‍ो एउटा लक्षण हो।

बेलायतको वातावरण, खाद्य तथा ग्रामीण मामिला विभागले जारी गरेको निर्देशिका अनुसार प्रभावित जनावरमा ज्वरो आउने, सुस्ती आउने, दुध नहुने, भोक नलाग्ने, सास फेर्न गाह्रो हुने, छालाको रंग रातो हुने, गर्भपतन , मृत बाछाबाछीको जन्म र प्रभावित जीवको मृत्यु जस्ता प्रभावहरू देख्न सकिन्छ। रोयटर्सका अनुसार यो भाइरस विशेष गरी भेडा, गाई र बाख्राका लागि घातक हुन सक्छ भने गाईको दूध उत्पादनमा उल्लेखनीय गिरावट आउन सक्छ।

प्रतिक्रिया