कृषिबाटै परिवारको भविष्य निर्माण गर्दै बाबुराम

नेपालखोज २०८१ भदौ ८ गते १२:५१

पर्वत । रोजगारीका लागि १० वर्षसम्म खाडी मुलुकमा भौतारिए पनि गतिलो कमाइ गर्न नसकेपछि स्वदेशमै फर्किएर व्यावसायिक तरकारी खेतीमा होमिनुभएका यहाँका एक कृषकले वार्षिक रु १५ लाखसम्म भित्र्याउन सफल भएका छन् ।

जलजला गाउँपालिका–६ शालिजाका कृषक बाबुराम रेग्मी मौसमी तथा बमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

एक दशक लामो समय खाडी मुलुकमा बिताए पनि घर खर्च चलाउन हम्मेहम्मे परेपछि गाउँमै फर्किर आफ्नै बाबुले गर्दै आएको कृषि पेशा अगालेका रेग्मीले अहिले विदेशमा भन्दा दोब्बर कमाइ गर्न सफल भएको बताए । एक दशकदेखि व्यावसायिक तरकारी खेतीमा लागेका रेग्मीले १५ रोपनी खेतबारीमा तरकारी खेती गर्दै आएका छन् । उनले मौसमीभन्दा बेमौसमी तरकारीलाई जोड दिएका छन् ।

मौसमी तरकारी लगाउँदा सोचे अनुरुप कमाइ नहुने र बजारको समेत अभाव हुने भएकाले बेमौसमी तरकारी खेतीमा लागेको रेग्मीले बताए । अहिले उनको बारीमा काउली, बन्दा, आलु, टमाटर, काँक्रा, धनियाँ, सिमीलगायत बेमौसममा उत्पादन हुने तरकारी लहलह भएका छन् । गाउँमै सडकको राम्रो पहूँच पुगेपछि बारीबाटै गाडीमा लोड गरेर बजार पठाउने गरेको रेग्मीले बताए ।

उनको बारीमा उत्पादित तरकारी छिमेकी जिल्ला म्याग्दीको बेनी, पर्वतको कुश्मा, बागलुङ र पोखरासम्म पुग्ने गरेको छ । रेग्मीलाई तरकारी खेतीको काम गर्न श्रीमती र बुबाले पनि सघाउँदै आएका छन् । वर्खे आलु लगाएर रु पाँच लाख आम्दानी गरेको बताउने बाबुरामले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्न कुनै समस्या नरहेको बताए । तरकारीका अलाबा उनले दश मुरी धान उत्पादन हुने खेतमा गोल्डेन जातको किबी पनि लगाउनुभएको छ । किबी खेतीबाट वार्षिक रुपमा रु दुईदेखि रु तीन लाखसम्म आम्दानी गर्ने योजना उनको छ ।

गाउँपालिकाले अनुदानमा किबीका बिरुवा उपलब्ध गराएको रेग्मीले बताए । स्वदेशमा केही छैन भन्नेका लागि बाबुरामको प्रगति गतिलो उदाहरण बनेको छ । परिश्रमी र लगनशील बाबुराम युवाका लागि प्रेरणाको स्रोत बनेको स्थानीय स्थानीय बताउँछन् ।

विदेश छाडेर गाउँ फर्किदा छरछिमेकले गाली गरेका थिए’, उनले भने, ‘घरखर्च चलाउन र छोराछोरी पढाउन धेरै खर्च चाहिन्छ फेरी विदेश फर्क भन्दै सुझाव दिने गरेको भए पनि अटेर गरेर तरकारी खेतीमा लागिरहे ।’ आफूले अङ्गालेको पेशा रोजेर छोरा गाउँकै नमूना कृषक भएकामा बुबा कलाधर रेग्मी पनि हर्षित बनेका छन् । परिश्रम र मेहिनत गर्न सक्ने हो भने कसैले पनि नेपाल छाडेर पलायन हुन नपर्ने उहाँको अनुभव रहेको छ । रासस

प्रतिक्रिया