एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज सुरू हुँदै छ । मंगलबारसम्म चल्ने बैठक आज ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुने छ ।
बैठकमा तीनवटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भूसालले जानकारी दिए । उनका अनुसार आजको बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ । एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।
त्यस्तै केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको भूसालले जानकारी दिए । गत असार १६ देखि २० गतेसम्म चलेको १० औं महाधिवेशनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालमात्रै निर्वाचित गरेको थियो ।
बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेको र आजबाट सुरू हुने बैठकमा त्यसबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

प्रतिक्रिया