मातृ तथा शिशु मृत्यूदर घटाउन नमुना कार्यक्रम आवश्यक

काठमाडौं । मातृ तथा शिशु मृत्युदर सोचे अनुसार घट्न नसके भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गत दिगो विकास उपसमितिले आयोजना गरेको छलफल कार्यक्रममा मातृ शिशु मृत्युदर घटाउन नेपाली समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको कुरामा जोड दिएका हुन् ।
अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने यो दरलाई दोहरो अङ्क हुँदै एकल अंकमा घटाउन सक्ने धारणा सरोकारवालाहरूको थियो । सरोकारवालाले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अंकमा झार्ने गरी योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
यस अघिको तथ्याङ्कमा नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा मातृ मृत्युदर २ सय ५८ रहेको थियो । त्यसलाई सन् २०३० सम्ममा घटाएर ७० मा झार्ने लक्ष्य लिइएको छ । त्यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर नेपालमा ३९ रहेको छ । त्यसलाई पनि २० मा झार्ने लक्ष्य लिइएको छ । करिब ५० प्रतिशत स्थानीय तहले मातृ मृत्युदर शून्यमा झार्ने प्रयास गरिरहेकोले त्यसलाई सबै स्थानीय तहमा लैजान पनि उनीहरूको जोड थियो ।
छलफलमा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर अहिले राज्यका लागि समेत चुनौती बनेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहको एकमुष्ट पहलमा घटाउनेतर्फ लाग्नुपर्नेमा जोड दिइन । उनले मुख्य गरेर स्थानीय तहले स्वयंसेविकाहरूलाई थप सेवा–सुविधा दिएर परिचालन गर्न सकेको अवस्थामा प्रभावकारी कार्यान्वयन गरेर अघि बढ्न सहयोग पुग्ने बताइन ।
प्रतिक्रिया