विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भाद्र १४ गतेदेखि हुने

काठमाडाैं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भाद्र १४ गतेदेखि सुरु गर्ने भएको छ ।
सिंहदरबारमा मङ्गलवार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्य तालिका पारित गरेको हो । कार्य तालिका अनुसार भाद्र १४ गते समितिले उजुरीकर्ताहरुसंग छलफल गर्नेछ भने भाद्र १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए ।
उनले राजदूत सिफारिसका विषयमा परराष्ट्रमन्त्रीसंग पनि छलफल गर्ने निर्णय भएको बताउनुभयो । संविधान अनुसार समावेशिताको आधारमा राजदूत सिफारिस भए–नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसंग जानकारी लिइने उनले बताए ।
बैठकमा समिति सदस्यहरूले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए । सांसद जीवन परियारले पछि परेका समुदायलाई पनि सहभागीताका बारेमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले सम्बोधन गर्न नसकेको बताए । कर्मचारी बाहेकबाट राजदूत सिफारिस गर्दा समावेशीलाई ध्यान दिन उहाँले सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद जनार्दन शर्माले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नका लागि पनि समावेशीतालाई ध्यान दिनुपर्ने उल्लेख गरे । संविधानलाई सही ढङ्गले कार्यान्वयन गर्न नसके आगामी दिनमा समस्या आउन सक्ने उनको भनाइ छ ।
सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया