हैजा नियन्त्रण र रोकथामका लागि तीनै तहसँग समन्वय भइरहेको छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हैजा प्रभावित क्षेत्रहरूको द्रुत सूचना, जनचेतना अभिवृद्धिलगायतका कार्य प्रभावकारी बनाउन तीनै तहका सरकारसँग समन्वय भइरहेको बताउनुभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’, भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएकका थिए । उक्त विषयमा मन्त्री पौडेलले ध्यानाकर्षण भएको जनाउँदै हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेका काम र आगामी योजनाकाबारे जानकारी दिए ।
उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको बताए । उक्त टोलीले नियमित ‘केस’ अनुसन्धान, बिरामीको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको बताउँदै मन्त्री पौडेलले पहिलो पटक सातवटै प्रदेशका मन्त्रीहरूबीच हैजा, डेङ्गीलगायत जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सामूहिक र समन्वयात्मक प्रयास गर्ने निर्णय गरेको सदनलाई जानकारी गराए ।
देशभरमा हाल ६८ जना हैजाबाट सङ्क्रमित भएका छन् । ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र मकवानपुरगरी पाँच जिल्लामा सङ्क्रमण देखिएको छ ।
प्रस्ताव सांसद कार्कीले स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयले हैजाको पुनःनिर्मलीकरणका लागि बृहत् कार्ययोजना बनाई लागू गर्न आवश्यक औँल्याए । प्रतिनिधिसभाको अर्को बैठक भदौ १३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया