‘सामाजिक सञ्जाल’बाटै बिक्री हुन्छ पशुवस्तु र कृषिजन्य उत्पादन

काठमाडाैं । देशव्यापी रूपमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगको चासो र चर्चा भइरहेका अवस्थामा यहाँका एक अगुवा कृषक भने त्यही सञ्जालको उपयोग गर्दै आफ्ना पशुवस्तु र कृषिजन्य उत्पादनलाई सहज रूपमा बजारमा पुर्याउनुभएको छ ।
पोखरा महानगरपालिका–३३ भरतपोखरीका अगुवा किसान रमेश आचार्यले विगत तीन वर्षयता सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट गोठबाटै पशुवस्तुसँगै घरबाटै कृषिजन्य उत्पादन बिक्री गर्दै आएका हुन् ।
पहिले–पहिले कुनै पशुवस्तु बेच्नुपरेमा ओल्लोपल्लो गाउँ हुँदै चिया दोकान र चोक चौतारीमा खबर छोड्नुपर्ने बाध्यतालाई अहिले भने सामाजिक सञ्जालले अन्त्य गरिदिएको उनले बताए । तीन वर्षयता सामाजिक सञ्जालमा राखेर गोठैबाट पशुवस्तु र कृषिजन्य उत्पादन बिक्री गरिरहेको उनले अनुभव सुनाए ।
“बिक्री गर्नुपर्ने पशुवस्तु वा सामग्री फेसबुकमा राखिदिएपछि अहिले अन्यत्र खबर गर्नुपर्दैन”, उनले भने, “फेसबुकमा बिक्रीका पशुवस्तु फोटोसहित राखिदिएसँगै तनहुँ, स्याङ्जालगायत स्थानबाट ग्राहक आएर किनेर लगेका धेरै उदाहरण मसँग छन् ।”
सामाजिक सञ्जालको दुरुपयोगभन्दा पनि यसलाई सही रुपमा प्रयोग गर्न सकेमा त्यसबाट धेरै फाइदा लिन सकिने उनको अनुभव छ कृषिप्रतिको अनिच्छाका कारण रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यही नै केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका आचार्यले उत्पादित वस्तुको बिक्री वितरणमा गरिरहेको सामाजिक सञ्जालको प्रयोग अन्यका लागि प्रेरणादायी बनिरहेको छ ।
स्नातकसम्मको अध्ययन, १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकका अनुभव सँगाल्नुभएका आचार्यले विगत चार वर्षअघि तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि गरिरहेका छन् । उनले पोखरा महानगरपालिका–३३ स्थित सुरौदीखोला तिखेढुङ्गामा पशुपालनसँगै व्यावसायिक रूपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् । कृषिजन्य उत्पादनमा पनि नयाँनयाँ प्रयोग गर्न रुचाउने आचार्यले यसअघि यस क्षेत्रमा खरबुजाको राम्रो उत्पादन गर्न सकिने कुरालाई प्रमाणित गरेर देखाइदिएका छन् ।
अघिल्लो वर्ष १५ वटा लैनाभैँसी बेचेको जानकारी दिँदै आचार्यले अहिले पनि पशुवस्तु केही बिक्री गर्नुपरेमा सामाजिक सञ्जालकै उपयोग गरिरहेको बताए । -INS

प्रतिक्रिया