आइतबार, वैशाख २८, २०८२

प्रत्यक्ष वैदेशिक लगानी- भारतबाट एक खर्ब तीन अर्ब ४५ करोड लगानी हुँदा चीनबाट ३५ अर्ब ४६ करोड लगानी

नेपालखोज २०८१ भदौ १४ गते १८:२३

काठमााडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रतिवेदन सार्वजनिक गरिएको राष्ट्र बैंकको भनाई छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/०८०’ तयार पारिएको हो, राष्ट्र बैंकले भनेको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ९५ अर्ब ५० करोड कायम रहेको छ । कुल वैदेशिक लगानी मध्ये चुक्ता पुँजीको अंश ५२ दशमलव आठ प्रतिशत, सञ्चिति ३३ दशमलव सात प्रतिशत र कर्जाको अंश १३ दशमलव पाँच प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको उक्त प्रतिवेदन अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् एक खर्ब तीन अर्ब ४५ करोड अर्थात ३५ प्र्रतिशत र त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड अर्थात १२ प्रतिशत रहेको छ ।

यि बाहेक आयरल्याण्डबाट २२ अर्ब ६२ करोड अर्थात सात दशमलव सात प्रतिशत, अष्ट्रेलियाबाट १९ अर्ब छ करोड अर्थात छ दशमलव चार प्रतिशत र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड अर्थात छ दशमलव चार प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९ दशमलव सात प्रतिशत औद्योगिक क्षेत्रमा र ४० दशमलव दुई प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव चार प्रतिशत वैदेशिक लगानी रहेको छ ।

यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानी मध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ । प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानी मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९ दशमलव सात प्रतिशत रहेको देखिन्छ ।

त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५ दशमलव एक प्रतिशत, कोशी प्रदेशमा १४ दशलमलव सात प्रतिशत, मधेश प्रदेशमा आठ दशमलव आठ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६० दशमलव ६९ प्रतिशत रहेको छ । इक्विटीको प्रतिफल भने करिब ११ दशमलव ६१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया