‘सूचनाको हक हरेक क्षेत्रले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ’

पाटन (ललितपुर) । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा आज ललितपुरको गोदावरीमा दिगो सूचना प्रवर्द्धन परियोजनाअन्तर्गत नागरिक समाजका प्रतिनिधिलाई सूचनामा दिगो पहुँचमा पुर्याउन आयोजित प्रशिक्षक प्रशिक्षणको उद्घाटन सत्रमा प्रमुख सूचना आयुक्त डा गुरुङले सूचनाको हक नागरिकको अधिकार भएकाले यसलाई अभियानका रुपमा लगिनुपर्ने बताए ।
उनले सूचना माग्नेलाई कानुनले व्यवस्था गरेअनुसार उपलब्ध गराउनुपर्ने भन्दै सूचना लुकाउनु जायज नहुने धारणा राखे ।
मधेश र लुम्बिनी प्रदेशमा सूचनामा दिगो पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको भन्दै डा. गुरुङले सूचनाको हक संविधानको धारामा मात्र व्यवस्था नभइ अभ्यास र कार्यान्वयन हुनु जरुरी रहेको बताए । सूचनाको हक नेपालमा भएका कानुनमध्ये सबैभन्दा सरल कानुन हो भन्दै उनले यो अभ्यासबाट सार्वजनिक निकाय सचेत र इमान्दार हुनुपर्नेमा जोड दिए ।
प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले सोही अधिकारीले नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउनुपर्ने उल्लेख गरे । आयोगमा सूचनाको हकको पुनरावेदन अझै कम परिरहेका भन्दै उनले सूचना माग्ने बानी बसाल्न सबैलाई आग्रह गरे ।
नागरिकलाई सचेत बनाउन यो प्रशिक्षणबाट प्रशिक्षित हुनेहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास लिइएको प्रमुख सूचना आयुक्त डा गुरुङको भनाइ छ । उनले नागरिकको हक र अधिकारका रुपमा नागरिकलाई सूचना माग्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया