कांग्रेसले महामन्त्री थापाकाे प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेका प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने भएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए ।
कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दै छ । बैठकअघि दिउसो पुन पदाधिकारी बैठक बसि आवश्यक छलफल गरिने उहाले बताए ।
केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए ।
महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने बिषयमा सहमति नजिक पुगिएको नेताहरुले जनाएका छन् ।
शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगाएतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ । केहि दिन यता जारी केन्द्रीय समितिको बैठकमा विभिन्न प्रतिवेदन लगाएतका ११ एजेण्डाहरुमाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया