डेंगी संक्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या

सुदूरपश्चिम । लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गी रोगबाट सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार पछिल्लो डेढ महिनामा मात्रै एक सय ७३ जनामा सङ्क्रण भएको छ । प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी डेङ्गीबाट अहिलेसम्म ८६ जना सङ्क्रमित छन् ।
यस्तै, अछाममा ६७, डोटीमा ५५, कञ्चनपुरमा ४७, दार्चुलामा २४, बाजुरामा १९, बैतडीमा १८, डडेलधुरामा १३ र बझाङमा पाँच जना सङ्क्रमित छन् । गत पुस महिनामा प्रदेशभरिमा १३ बिरामी फेला परेकामा त्यसयता सङ्क्रमण निरन्तर बढ्दै गएको छ ।
सबैभन्दा बढी अगस्तमा (साउन/भदौ) महिनामा ८८ व्यक्तिमा सङ्क्रमण देखिएको छ । कैलालीको गोदावरी नगरपालिका, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले डेङ्गी रोकथामका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतको संयुक्त पहलमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइहेको बताए ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी आसारदेखि कात्तिक महिनामा पानी पर्ने भएकाले लामखुट्टेको वृद्धि भई सङ्क्रमणको बढी जोखिम रहने गरेको बताउँछन् ।
डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । गत वर्ष प्रदेशमा डेङ्गीबाट तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोग रोकथामको प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया