मंगलबार, असोज १, २०८१

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन-२ हुँदै

नेपालखोज २०८१ भदौ १७ गते ८:३३

न्युयोर्क (अमेरिका) । सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्टिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ ।

एक्रोन सहरको कोप्ले खेलमैदानमा नेपालका वरिष्ठ कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको साङ्गीतिक समारोहमा आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन् ।

प्रतियोगिताको अडिसनका लागि विश्वका विभिन्न मुलुकमा स्थलगत अडिसन तय गरिएका छन् । नेपालभित्र र संसारका जुनसुकै ठाउँमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास राख्ने नेपालीभाषी समुदायका लागि रियालिटी शो आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए ।

‘रियालिटी शो’ का लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्ड, मध्यपूर्वका लागि दुबई, अष्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिक्किम र नेपालमा दमक, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरू आयोजना गरिने उनले बताए ।

‘भ्वाइसका लागि यसरी छनोट भएका एक सय २० र डान्सका लागि एक सय २० गरी दुई सय ४० कलाकारलाई अन्तिम प्रतिस्पर्धीका लागि काठमाडौं लगिनेछ । ‘रियालिटी शो’ का विजेतालाई एक करोड, दोस्रो हुनेलाई २५ लाख र तेस्रोलाई १० लाख पुरस्कार प्रदान गरिने छ’, उनले भने । यी दुई ‘रियालिटी शो’ को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो

प्रतिक्रिया