भन्सार छली गरी ल्याइएका सामान बरामद

सुदूरपश्चिम । कैलाली प्रहरीले भन्सार छली गरेर ल्याइएका १२ लाख ६५ हजार चार सय ६५ मूल्य बराबरका मोबाइल लगायतका सामान बरामद गरेको छ ।
प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१३ विमानस्थल जाने बाटो नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ बस्ने राजु चौधरीलाई रु आठ लाख ४० हजार मूल्य बराबरको २१ थान ‘आइफोन’ मोबाइलसहित आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले मोबाइल कार्टुनमा ‘प्याक’ गरी काठमाडौं पठाउन तयारी गरिएको अवस्थामा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । बरामद भएका मोबाइल कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।
तीन दिनअघि कैलालीका विभिन्न सीमा नाकाबाट भन्सार छलीगरी भित्र्याइएका मोबाइल सेटको ९० थान डिस्प्लेसहित रु चार लाख २५ हजार चार सय ६५ मूल्य बराबरका सामान बरामद गरिएको थियो ।
धनगढी उपमहानगरपालिका–१० जुगेडा क्षेत्रबाट मोबाइलको डिस्प्ले र गोदावरी नगरपालिका—३ र ४बाट सुर्ती, सलाई, जर्दा तुल्सी, नरिवल, प्लास्टिकका झिल्लीलगायत व्यापारिक सामान बरामद गरेको हो ।
त्यसैगरी प्रहरीले बझाङ जिल्ला घर भई कैलालीको गोदावरी नगरपालिका–२ मा बस्दै आएकी मङ्गलीदेवी धामीलाई झण्डै १६ किलो लागुऔषध चरेशसहित पक्राउ गरेको छ । निज धामी बस्ने घरको कोठामा बोरामा राखेर भुसभित्र लुकाइ राखिएको अवस्थामा उक्त वस्तु बरामद गरेको हो ।
दुई दिनअघि बझाङ जिल्ला केदारस्यू नगरपालिका–७ का जनक धामीलाई धनगढीको क्याम्पस चोकबाट चार किलो पाँच सय ग्राम लागुऔषध चरेशसहित पक्राउ गरेको थियो । क्याम्पस चोकमा निज धामीले बोकेको झोला प्रहरीले खानतलासी गर्दा चरेशसहित रु ७५ हजार फेला परेको जिल्ला प्रहरीका प्रवक्ता बोहराले बताए ।
गत साउनमा एकैदिन प्रहरीले धनगढी उपमहानगरपालिका क्षेत्रबाट बेवारिसे अवस्थामा फेला परेको रु १२ लाख नौ हजार मूल्य बराबरको कुर्ता, साडीसहितको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको थियो ।
प्रतिक्रिया