शुक्रबार, वैशाख २६, २०८२

पाँच पटक म्याद थप हुँदा पनि बनेन दैजी-जोगबुढा सडक

नेपालखोज २०८१ भदौ १८ गते ८:३४

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक पाँच पटक म्याद थप हुँदासमेत निर्माण सम्पन्न भएको छैन । विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निमार्ण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको सात वर्षबितिसक्दा पनि नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ ।

सडक निमार्णका लागि पाचौँ पटक विसं २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ । कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । उक्त सडक निर्माण नहुँदा डडेल्धुराको भित्रिमधेशका स्थानीय धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् ।

‘डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दुरीको सडक नबन्दा हामीले घुमाउरो बाटो आवतजावत गर्नुपर्ने बाध्यता छ’, स्थानीय रामबहादुर बुढामगरले भने । उनले सडक नहुँदा जोगबुढा र परशुराम क्षेत्रको कृषि उपज बिक्रीका लागि समस्या हुने गरेको बताए । ‘सडक भइदिएको भए यहाँ उत्पादित दाल तरकारी महेन्द्रनगर बिक्री गर्न लैजान सजिलो हुने थियो’, उनले भने । सडक निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा चुरे पहाडमा सडक किनारामा निमार्ण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय महेश भट्टले बताए ।

‘बनेका पर्खाल र नालीसमेत जीर्ण भएका छन्’, भट्टले भने, ‘वर्षातमा हरेक वर्ष सडकमा क्षति हुने गरेको छ ।’ डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको वैकल्पिक मार्ग समेत हो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निमार्णमा ढिलाइ भएको जनाएको छ ।

सूचना अधिकारी आनसिंह डाँगाका अनुसार सडक निर्माण सम्पन्न नहुँदा हरेक वर्ष वर्षातमा बाढीले क्षति गर्ने गरेको छ । हालसम्म निमार्ण व्यवसायीले १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ । कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रतिक्रिया