‘बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना छ’

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गरेका प्रश्नको उत्तर दिँदै उनले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।
मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार नेपाल सरकारले विक्रम सम्वत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराए । उनले मन्त्रालयको अल्पकालीन र मध्यकालीन योजनामा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराउने योजना प्रमुख रहेको बताए ।
तराई मधेस क्षेत्रमा डिपबोरिङ्गका आयोजना सञ्चालन गरी स्वच्छ खानेपानी सेवा उपलब्ध भइरहेको बताउँदै मन्त्री यादवले यसलाई थप विस्तार गर्दै लगिने जानकारी गराए । ‘अधुरा तथा निर्माणाधीन आयोजना समयमा नै सम्पन्न गरी सेवा उपलब्ध गराइने योजना रहेको छ,’ उनले भने ।
‘खानेपानी तथा सरसफाइ सेवा नागरिकको पहुँचसम्म पु¥याउने सरकारको प्राथमिकता नेपाल संविधानमा तीन तहको सरकारको साझा अधिकारको सूचीमा समावेश गरिएको छ,’ सभालाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘हालसम्मको प्रगतिअनुसार, आर्थिक वर्ष २०७९/८० सम्म ९४.९३ प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सेवा पुर्याइएको छ भने सत प्रतिशत जनसङ्ख्यामा आधारभूतस्तरको सरसफाइ सुविधा उपलब्ध गराइएको छ । यसका साथै, २५.८१ प्रतिशत जनतामा उच्च तथा मध्यमस्तरको खानेपानीमा पहुँच पुर्याइएको छ ।’
उनले थप प्रष्ट पार्दै भने, ‘भक्तपुरको महादेव खोला, ठोस्ने खोला, सिस्नेरी खोलाको पानी वितरणको लागि सम्भाव्यता अध्ययन पूरा भएको छ र यसपछि काठमाडौँ उपत्यकामा थप पानी उपलब्ध गराइनेछ ।’ सरकारले पहाडी सुक्खाग्रस्त क्षेत्रमा लिफ्टीङ आयोजना तथा तराई मधेसका जिल्लामा नदीहरूबाट थोक पानी वितरणको लागि सम्भाव्यता अध्ययन गरेर कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि उनले बताए ।
सरकारले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत दीर्घकालीन खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गर्ने योजना बनाएको बताउँदै मन्त्री यादवले काठमाडौं उपत्यकामा वर्षातको पानी सङ्कलन र पुनर्भरणको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराए ।
प्रतिक्रिया