प्रधानसेनापति शर्माको बिदाई
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनी करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका हुन् ।
प्रधानसेनापति शर्माको सम्मानमा बुधबार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पु¥याएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताए । साथै उनले प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको उल्लेख गरे ।
मन्तव्यकै क्रममा सचिव दंगालले नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए।
कामु प्रधानसेनापति सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताए। उनले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पु¥याउन महारथी शर्माले प्रदर्शन गरेको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताए।
प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए । उनले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्नु हुने रक्षा मन्त्रालयलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गरे।
प्रतिक्रिया