मोबाइल फोन र ब्रेन क्यान्सर बिच कुनै सम्बन्ध छैन्
काठमाडाैं । डब्लुएचओले गरेको अनुसन्धानले खुलासा गरेको छ । मोबाइल फोन प्रयोग गर्ने मानिसहरू प्रायः यसको प्रयोगबाट क्यान्सर हुन्छ भनेर सोच्छन् तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँगको सहकार्यमा गरिएको एक अध्ययनले ती अनुमानहरूलाई अस्वीकार गरेको छ।
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले मोबाइल फोन र स्वास्थ्यमा त्यसले पार्ने असरका बारेमा गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो अध्ययनले मोबाइल फोन र मस्तिष्कको क्यान्सर बिच कुनै सम्बन्ध नभएको खुलासा गरेको हो । यो अध्ययनको नतिजा जर्नल इनभाइरोमेन्टल इन्टरनेशनलमा प्रकाशित भएको छ । यस अध्ययनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले सन् १९९४ देखि २०२२ सम्म प्रकाशित ६३ वटा अध्ययनको विश्लेषण गरेका छन्।
अस्ट्रेलियाको विकिरण संरक्षण एवं आणविक सुरक्षा एजेन्सीको नेतृत्वमा गरिएको समीक्षाले ५,००० भन्दा बढी अध्ययनहरूको जाँच गर्यो। यद्यपि, यो समीक्षामा वैज्ञानिक रूपमा भरपर्दा अध्ययनहरू मात्र समावेश गरिएको थियो भने बाँकी अध्ययनहरू समीक्षामा समावेश थिएनन् ।
विश्लेषण अनुसार अध्ययनमा मोबाइल फोन र मस्तिष्कको क्यान्सर वा टाउको र घाँटीको अन्य क्यान्सर बिच कुनै सम्बन्ध रहेको प्रमाण फेला परेको छैन । उल्लेखनीय के छ भने यो अध्ययन मस्तिष्क, मेनिन्जेस, पिट्यूटरी ग्रन्थि र कानका साथै र्याल ग्रन्थि र मस्तिष्क ट्युमर जस्ता केन्द्रीय स्नायु प्रणालीको ट्युमरहरूमा केन्द्रित थियो।
लामो समयको प्रयोग ?
अन्वेषकहरूका अनुसार विश्वमा वायरलेस प्रविधिको प्रयोगमा ठुलो वृद्धि भए पनि मस्तिष्कसँग सम्बन्धित क्यान्सरको घटना त्यो अनुपातमा बढेको छैन । यति मात्र होइन, लामो समयसम्म मोबाइलमा कुरा गर्ने मानिसमा पनि मोबाइल फोनको प्रयोग र क्यान्सर बिच कुनै सम्बन्ध नदेखिएको अध्ययनले देखाएको छ ।
यो नयाँ अध्ययनले मोबाइल फोनको प्रयोगले क्यान्सर नहुने कुरा स्पष्ट गरेको छ । ज्ञान्तब्य रहोस् – विश्व स्वास्थ्य सङ्गठनले हाल रेडियो तरङ्गहरूको जोखिमको स्वास्थ्य प्रभावहरूका बारेमा एक रिपोर्टमा काम गरिरहेको छ। उक्त प्रतिवेदनमा यो नयाँ अध्ययनका साथै डब्ल्यूएचओद्वारा गरिएका अन्य अध्ययनका निष्कर्षहरू समावेश हुनेछन्।
प्रतिक्रिया