गृहमन्त्री रमेश लेखकबाट नवनिर्मित भवनहरू उद्घाटन

कैलाली । गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेश तथा क्वाटर गार्डको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुको साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई प्रशंसा–पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै नवर्निमित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । शान्ति सुव्यवस्था कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीको कामकारवाही जनमुखी, पारदर्शी, पक्षपात रहित र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै समयसापेक्ष परिवर्तित समाजको गति र आम नागरिकको चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी र सेवामुखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको बताए । नवनिर्मित भवनले प्रहरी कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ र सहज कार्यमैत्री वातावरण निर्माण हुने अपेक्षा रहेको बताउँदै व्यवस्थित र सुविधा सम्पन्न भौतिक संरचनाबाट प्रवाहित सेवाथप गुणस्तरीय, नागरिकमैत्री एवम् प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र धनगढीउपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवी महत्तोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड ४० लाख ८ हजार २ सय ३२ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
यसैगरी गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको हाताभित्र नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प धनगढीको भवन तथा पूर्वाधारहरूको समेत बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै उनले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको अवलोकन समेत गरे । नेपाल प्रहरी कल्याण कोषको कुल ५ करोड ८७ लाख ७८ हजार ४ सय ४५ रूपैयाँ लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूकोनिर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया