चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

धरान (सुनसरी) । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ ।
साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् ।
धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आउनुभएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भन्नुभयो, “खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।’
लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन् । ‘व्यापारको टुङ्गो हुँदैन कहिले घाटा लाग्छ कहिले नाफा हुन्छ, तर यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ’, उनले भने । पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाए । खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनले बताए ।
राईले मासिक रु पाँच लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको बताए । उनले भने, ‘पुख्र्यौली पेसा खेती किसानी हो, तर विगत ६ वर्षदेखि मैले व्यवसाय सुरु गरेकी छु ।’ प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी र कहिलेकाहीँ बिक्री नभएर फेरि फर्काएर घरै लैजानु परेको उनी बताउँछन् ।
खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताए । धरान उपमहानगरपालिका–१७ का व्यापारी पर्शुराम बस्नेत प्रत्येक साता कृषि बजारमा खसीबोका किन्न आउँछन् । पन्ध्र वर्षको उमेरदेखि यो व्यवसाय सूरु गरेको उनले बताए ।
प्रतिक्रिया