बुधबार, असार १८, २०८२

वेस्ट बैङ्कमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग

नेपालखोज २०८१ भदौ २२ गते १४:०१

जेरूसेलम । वेस्ट बैङ्कमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा टर्की र अमेरिकाको दोहोरो नागरिकता भएकी महिलाको गोली हानी गरिएको हत्याको परिवारले स्वतन्त्र छानबिनको माग गरेको छ ।

परिवारले इजरायली सेनाले एक महिलालाई टाउकोमा गोली हानी हत्या गरेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ । वैस्ट बैङ्कको बेइटामा शुक्रबार भएको प्रदर्शनमा भाग लिने क्रममा २६ वर्षीय आइसेनुर एज्जी आइगीको टाउकोमा गोली लागेको थियो ।

‘हाम्रो जीवनमा उनको उपस्थितिलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा लिएको थियो,’ आइगीको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शान्तिपूर्वक न्यायका लागि आवाज उठाएकी आइसेनुरको गोली लागेर मृत्यु भएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘हामी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई एक अमेरिकी नागरिकको गैरकानुनी हत्याको स्वतन्त्र अनुसन्धानको आदेश दिन र दोषी पक्षहरूको पूर्ण जवाफदेहीता सुनिश्चित गर्न आह्वान गर्दछौं।’

इजरायली सेनाले प्रदर्शनका क्रममा सेनामाथि ढुङ्गा प्रहार गर्ने र उनीहरूका लागि खतरा उत्पन्न गर्ने हिंसात्मक गतिविधिका मुख्य उक्साहटकर्तालाई आफ्नो सेनाले गोली चलाएको बताएको छ ।

इन्टरनेसनल सोलिडारिटी मुभमेन्ट (आईएसएम) का अनुसार आइगी आईएसएमकी सदस्य हनुहुन्थ्यो र उनी इजरायली बस्ती विस्तारको विरोधमा बेइटा भएको साप्ताहिक प्रदर्शनमा ऐक्यवद्धता प्रकट गर्न शुक्रबार बेइटामा पुगका थिए ।

हालैका वर्षहरूमा, प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले बेइटाको छेउछाउमासाप्ताहिक विरोध प्रदर्शनहरू गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालय र राफिडिया अस्पतालका अनुसार शुक्रबारको प्रदर्शनका क्रममा आइगीको टाउकोमा गोली लागेको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई ‘बर्बर’ भन्दै निन्दा गरेका छन् । वासिङ्टनले यसलाई ‘दुःखद’ घटना भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ । तर उनको परिवारले भने स्वतन्त्र छानबिनको लागी माग गरेको छ ।

‘आइगीको हत्याको परिस्थितिलाई ध्यानमा राख्दै इजरायली अनुसन्धान पर्याप्त छैन,’ मृतक महिलाको परिवारले भनेको छ ।उनको परिवारले आइगीले सधैं प्यालेस्टिनीका जनताविरुद्ध हुने हिंसा अन्त्यको वकालत गरेको बताएको छ । करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैङ्कमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन् ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएयता इजरायली सेना वा बासीन्दाहरूले वेस्ट बैङ्कमा ६९० भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार सोही अवधिमा प्यालेस्टाइनी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा २३ जना इजरायली मारिएका छन् ।

प्रतिक्रिया