झाडा लागेर एकजनाको मृत्यु
नेपालखोज
२०८१ भदौ २३ गते ८:१८

नेपालगञ्ज (बाँके) । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।
‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ’, उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् ।
तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए ।
सम्बन्धित

प्रतिक्रिया